यौनिकता मानवजीवनको एउटा महत्वपूर्ण पाटो हो । आफूले आफ्नो यौनिकतालाई बुझ्न सक्दा, आफ्ना इच्छाहरूलाई पूरा गर्न सक्दा हामी खुसी हुनसक्दछौँ । हामी सन्तुष्ट हुन्छौँ । यसको प्रभाव हाम्रो उत्पादनमापर्दछ । व्यक्तित्वमा झल्कन्छ । तर पनि हामी यसबारे कुरा गर्दैनौंँ । त्यसमा पनि हामी महिलाहरूका लागि त यस विषयमा बोल्नु, आफ्ना चाहना व्यक्त गर्नु र आफू सन्तुष्ट हुन चाहनु भनेको उनीहरूले गर्ने अपराध जस्तो मानिन्छ । आजसम्म हामी महिलालाई हामीले आफ्नो यौनिकतालाई कसरी नियन्त्रित गर्न सकिन्छ ? महिला भएर के–के गर्न हुन्न भन्ने मात्रै सिकाइएको छ । झन् त्यसमाथि समाजले तयार गरेको “असल महिला” को ढाँचाभित्र स्थापित भइरहन हामीले के–के गर्न हुँदैन भन्ने सूची निकै लामो छ । त्यो सूचीमा हामीले गर्न नहुने भन्ने कामहरूमध्ये खुसी हुने, आनन्दित हुने, आफ्नो शरीरलाई बुझ्ने आफ्नो यौनिकतालाई बुझ्ने र सोही अनुरूपको व्यवहार गर्ने कुराहरू सबभन्दा माथि छन् । यसले हामीलाई खुसीबाट टाढा राखेको छ । हाम्रो शरीरबाट टाढा राखेको छ । हामी आफूलाई आफैले माया गर्नबाट वञ्चित गरेको छ ।
फलस्वरूप हामी हेपिएका छौँ । हामीमाथि हिंसा हुने गरेको छ । हाम्रो शरीर, यौनलाई हामीलाई नै दबाउने औजारको रूपमा प्रयोग गरिएको छ । हामीलाई बलात्कृत भए पनि त्यही घरमा बस्न बाध्य गराइएको छ । चुपलाग्न दबाब दिएको छ । एच.आइ.भि. संक्रमित बनाएको छ । मानसिक रूपले पीडा दिएको छ । यस्ता धेरै अन्यायहरू हामीमाथि गरिएका छन्, हामीले के–के गर्न हुँदैन भन्ने लामो सूची तयार गरेर । त्यसलाई नमान्नेलाई जे गरे पनि हुन्छ भन्ने सोच स्थापित गराएर ।
यो पुस्तकमा हामीले यस्ता हामीलाई नियन्त्रण गर्ने सोचलाई परिवर्तन गर्दै हामीले आफूले आफैलाई माया गर्न के–के गर्नुपर्दछ ? हामी के–के गर्दा खुसी हुन सक्छौँ ? भन्ने हामी महिलाहरूको अनुभवमा आधारित सूचनाहरू राखेका छौँ । यौनिकताको सन्दर्भमा अहिलेसम्म व्याप्त मौनतालाई तोड्ने प्रयास गरेका छौँ । यसले कतिलाई अप्ठ्यारो पनि लाग्न सक्छ । तर यी अप्ठ्यारालाई पन्छाई अब बोल्ने बेला आइसकेछ बरू भनौँ ढिलै भइसकेछ भन्ने अनुभूति भने पक्कै हुनेछ ।
यस पुस्तकमा धेरै महिलाहरूका आफ्ना अनुभवहरू राखिएका छन् । कतिपय सूचना, व्यक्त गरिएका अनुभवहरू “Our Bodies Our selves” बाट उल्था गरेर पनि राखिएका छन् । धेरै अनुभवहरूलाई हामीले घटना अध्ययनको रूपमा राखेका छौँ । गोपनीयताको ख्याल गर्दै कसैको पनि नाम उल्लेख गरिएको छैन । सबैलाई मेरो अनुभवमा वा मलाई यस्तो भयो भनेर लेखिएको छ । तर यो यस पुस्तक संयोजन गर्ने व्यक्तिहरूको मात्रै नभइ सयौँ महिलाहरूको अनुभव हो भन्ने बुझ्नु जरूरी छ ।
अन्त्यमा, यौनिकताका सम्बन्धमा विगत १६ वर्षदेखि समुदायस्तरमा गरिएको तालिमको अनुभव र अन्तर्राष्ट्रियस्तरमा महिलावादीहरूको अनुभवमा आधारित नेपाली परिवेशका लागि तयार गरिएको यो पहिलोचोटी सामाग्री हो ।